काठमाडौं । त्रिपुरेश्वरको दशरथ रंगशालामा यही जेठ १२ गते ‘सहिद स्मृति राष्ट्रिय रग्वी सेभेन्स महिला प्रतियोगिता’ आयोजना हुने भएको छ। सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजनामा हुने प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
प्रतियोगितामा वाग्मती, मधेस, कर्णाली, सुदूरपश्चिम र कोसी गरी पाँच प्रदेशीय टोलीसँगै त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब गरी कुल सात टोली सहभागी हुनेछन्। प्रतियोगितालाई दुई समूहमा विभाजन गरेर सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ।
नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेका अनुसार प्रतियोगिताको उद्देश्य महिला रग्बीको प्रवर्द्धन गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिनु हो।
प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख रुपैयाँ रहेको छ। जसमा ११ लाख रुपैयाँ सहिद स्मृति स्पोर्टस् एकेडेमीले व्यवस्थापन गर्नेछ भने बाँकी रकम नेपाल रग्बी संघले उपलब्ध गराउनेछ। सहभागी खेलाडीहरूका लागि १ लाख २५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा समेत गरिएको महासचिव श्रेष्ठले जानकारी दिए।
महिला खेल क्षेत्रमा सक्रियता बढाउन र रग्बी खेलप्रति रुचि जगाउन यो प्रतियोगिता महत्वपूर्ण हुने विश्वास आयोजक र संघले व्यक्त गरेका छन्।