काठमाडौं । अखिल नेपाल खेलकुद महासंघको संघ–संस्था समन्वय समिति (विशेष प्रदेश) अन्तर्गत अखिल नेपाल रग्बी संघ, अखिल नेपाल पौडी संघ, अखिल नेपाल साइक्लिङ संघ र अखिल नेपाल फुटबल महासंघको संयुक्त सम्मेलन शनिबार सम्पन्न भएको छ।
सातदोबाटो खेलकुद हलमा आयोजित सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्ल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रग्बी संघ अध्यक्ष दीपक देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं महासंघका सह–अध्यक्ष जनक बर्तौला, एन्फा महासचिव तथा महासंघका प्रथम उपाध्यक्ष किरण राई, उपाध्यक्ष नवराज ढुङ्गानासहितको उपस्थिति थियो।
संघ संस्था संयोजक राकेश कुमार राईको सभापतित्वमा सम्पन्न सम्मेलनमा महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरे, कोषाध्यक्ष एलिशा थापा, सदस्य मनोज घिमिरे, रग्बी संघका कोषाध्यक्ष दीपक अधिकारी र एन्फा प्रवक्ता सुरेश साहलगायत सहभागी भएका थिए।
सम्मेलनले चारै संघमा नयाँ नेतृत्व चयन गरेको छ। रग्बी संघको अध्यक्षमा सुरेन्द्र कुँवर, साइक्लिङ संघमा रवीन्द्र श्रेष्ठ, फुटबल महासंघमा सुरेश साह र पौडी संघमा विजय लामा निर्वाचित भएका छन्।
रग्बी संघमा उपाध्यक्षमा बिनु खड्का, जीवराज भण्डारी र सेवक शर्मा, सचिवमा विशाल श्रेष्ठ, सह–सचिवमा विकास बुढा र कोषाध्यक्षमा ठाकुर प्रसाद खनाल चयन भएका छन्।
पौडी संघमा उपाध्यक्षमा रवीन्द्र पाल, रोज बहादुर तामाङ र जल बुढा, सचिवमा प्रामी तामाङ, सह–सचिवमा जङ्ग बहादुर तामाङ, सुन्दर लामा र दीप चन्द तामाङ, कोषाध्यक्षमा आमसाङ तामाङ तथा सदस्यमा सुदर्शन केसी, प्रवीण काकी, अर्जुन कार्की, प्रवास तामाङ र हेमन्त दाहाल चयन भएका छन्।
फुटबल महासंघमा विष्णु श्रेष्ठ, सागर घिमिरेलगायत सदस्य भएका छन्।